मानव तस्करीको 'हब' बन्यो जोगवनी नाका
२० असार, बिराटनगर । मोरङको बिराटनगर एवं रानी भन्सारसँग सीमा जोडिएको जोगवनी नाका मानव तस्करहरुका लागि सुरक्षित नाकाका रुपमा प्रयोग हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
मानव बेचबिखनमा संलग्न रहेको भन्दै प्रहरीले आइतबार एक महिलालाई सार्वजनिक गरेको छ । ती महिलाले भारत लैजान लागेका पाँच युवतीलाई प्रहरीले उद्धार गरेको छ ।डरलाग्दो तथ्यांक मोरङका प्रहरी प्रमुख तारणीप्रसाद लम्सालका अनुसार भारत तथा तेश्रो मुलुकमा रोजगारीको आश्वासनमा यही मार्ग भएर महिला एवं वालवालिकाहरु ओसार्ने गरिएको छ । उनीहरुलाई अरबसम्म लैजाने भनिए पनि भारतमा बेच्ने गरिएको प्रहरीको आशंका छ ।जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार अपरान्ह आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक लम्सालले एक वर्षको अवधिमा १ सय ४६ जनालाई जोगवनी नाकाबाट उद्धार गरिएको तथ्यांक सार्वजनिक गरे ।यसरी उद्धार गरिएका मध्ये बढीजसो महिला र वालिकाहरु छन् भने केही वालकहरु छन् । उद्धार गरिएका मध्ये १२ देखि १८ वर्षका ४२ जना वालिका छन् । त्यस्तै १२ देखि १५ वर्षका १७ जना वालकको उद्धार गरिएको छ । तस्करहरुको पञ्जाबाट १८ देखि ३८ वर्षका ८८ जना महिलाको उद्धार गरिएको छ । वर्ष दिनमा यतिठूलो संख्यामा महिला र वालवालिका बेचबिखनमा पर्नु चानचुने घटना नभएको प्रहरीको भनाइ छ
प्रहरीका अनुसार सो एक वर्षको अवधिमा मानव ओसार प्रसार तथा बेचबिखन तथा ओसार पसारमा संलग्न १५ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।सातदोबाटोबाट उठाएर नाइट बसमा बिराटनगर
वैदेशिक रोजगारमा पठाइदिने बहानामा पाँच युवतीलाई बिराटनगर हुँदै जोगवनी नाकाबाट भारत लाने क्रममा पथरी शनिश्चरे नगरपालिका ८ की मोटी भनिने शान्ता लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिराटनगरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।मोरङ घर भई ललितपुरको ठेचोमा बस्दै आएकी ३२ वर्षीया लिम्बुलाई पाँचजना युवतीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।मोरङ वयरवन-८ की २१ वर्षीया दुर्गा जोगी, कञ्चनपुर त्रिभुवन वस्तिकी २१ वर्षीया कोपिला तामाङ, म्याग्दी सिंहकी ३८ वर्षीया मनमाया विक, उदयपुर राजावास गाईघाटकी २३ वर्षीय सुकिका दनुवार र सप्तरी ढकली वथनाहाकी २५ वर्षीया मंगलीदेवी रामलाई भारत लैजाने क्रममा लिम्बू पक्राउ परेकी हुन् ।उनीहरुलाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै कुवेत पठाइदिने बाहनामा जोगवनी नाका पुर्याइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पाण्डेले जानकारी दिए ।शान्तिले पाँच युवतीहरुलाई ललितपुरको सात दोबाटोबाट स्थल मार्गको प्रयोग गरी जोगवनी ल्याएकी थिइन् । शान्तिले आफुलाई जोगवनीको बाटो प्रयोग गरी भारत लान एजेन्टले अह्राएको पत्रकार सम्मेलनमा बताइन् ।भक्तपुरका प्रदीप तामाङ र काभ्रेकी कविता सेवाले आफूलाई जोगवनी पठाएको शान्तिले जानकारी दिइन् । जोगवनीमा रेल सेवाको सहजता भएकाले घुम्न जाने बहानामा तस्करहरुले रानी नाका प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार मानव तस्करहरुले मुलुकका अन्य नाका पनि प्रयोग गर्ने गरेका छन् तर, जोगवनी नाका भने उनीहरुको मुख्य मार्ग भएको पाइएको छ ।प्रहरीले शान्तिलाई मानव वेचविखन तथा ओसार प्रसारमा मुद्दा चलाइएको जनाएको छ



No comments: