''पाठेघर क्यान्सरको खोप निःशुल्क'पुरा जानकारी हेर्नु होला

पाठेघर क्यान्सरको खोप निःशुल्क

काठमाडौं, ८ साउन  - सरकारले पाठेघरको क्यान्सर रोक्न अहिलेसम्मकै महँगो खोप निःशुल्क रूपमा बालिकालाई दिन लागेको छ। प्रतिखोप १० हजार रुपैयाँ पर्ने एचपीभी (हुमन प्यापिलोमा भाइरसविरुद्धको खोप) नेपालमा पहिलोपटक निःशुल्क दिन लागिएको हो।

ग्लोबल अलाइन्स फर भ्याक्सिनेसन (गाभी) ले तीन करोड रुपैयाँ मूल्य बराबरको ३० हजार डोज उक्त खोप निःशुल्क सरकारलाई दिएको छ। यो खोप अघिल्लो वर्ष नै दिने भनिए पनि बजेट अभावमा रोकिएको थियो।

सरकारले यसअघि चार हजार रुपैयाँ मूल्य पर्नेसम्मको खोप निःशुल्क बालबालिकालाई दिँदै आएको थियो। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले नेपालमा बढ्न थालेको पाठेघर क्यान्सर रोक्न चुनौती भएपछि महँगो र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त खोप बालिकालाई दिन लागिएको बताए।

’यो खोप नेपालका बालिकाले पनि पाउनु आफैंमा उपलब्धिमूलक हो’, उनले अन्नपूर्णसँग भने, ’महँगो एवं प्रभावकारी पनि भएकाले हामी यो खोप निःशुल्क रूपमा लगाउँदैछौं।’ पहिलो चरणमा कास्की र चितवनका १५ हजार बालबालिकालाई दिइने उक्त खोप सेवा केही वर्षमै देशव्यापी रूपमा विस्तारित गरिने पौडेलले बताए।



विश्व स्वास्थ्य सगठन (डब्लूएचओ) ले नेपालका २३ प्रतिशतभन्दा बढी महिला पाठेघर क्यान्सरबाट ग्रसित छन्। उपचार पहुँचको अभावमा पाठेघर क्यान्सर भएका अधिकांश महिलाले अल्पआयुमै ज्यान गुमाउने गरेका छन्।

१० वर्ष उमेर समूहका बालिकालाई सामुदायिक र निजी विद्यालयलाई केन्द्रबिन्दु बनाएर खोप लगाइने जनस्वास्थ्य प्रशासक मुकुन्द गौतमलले बताए। उनका अनुसार विद्यालय नजाने १० वर्ष उमेर समूहका बालिकाले पनि यो खोप स्थानीय स्वास्थ्य संस्थाबाट निःशुल्क लगाउन सक्नेछन्।

असोज १ देखि पहिलो डोज दिइनेछ। सरकारले खोपसँगै पाठेघर क्यान्सरको जाँच (स्क्रिनिङ) र किशोरकिशोरीको स्वास्थ्य सुधारसम्बन्धी कार्यक्रम एकैपटक सञ्चालन गर्न लागेको छ।

परिवार स्वास्थ्य महाशाखासँग समन्वय गरी सञ्चालन गर्न लागिएको उक्त कार्यक्रममा पाठेघर क्यान्सरबाट बच्ने उपायबारे परामर्श गरिनेछ। क्यान्सरसम्बन्धी जाँचको सुविधा भएकाले पहिलो चरणमा उक्त खोप दिन कास्की र चितवनलाई छानिएको डा. पौडेलले बताए।

खोप सञ्चालनका लागि गाभीबाट दुई करोड रुपैयाँ सहयोग प्राप्त भएको छ। अमेरिका, क्यानडा, श्रीलंका, भुटानलगायत ६० मुलुकमा प्रयोग भइरहेको उक्त खोप नेपालले पनि यसै वर्षदेखि दिन लागेको डब्लूएचओ जेनेभाका टेक्निकल अफिसर पाउल ब्लोइमले बताए।

डब्लूएचओले ९ देखि १३ वर्ष उमेर समूहका बालिकालाई खोप दिन सिफारिस गरेको छ । नेपालले भने हालका लागि १० वर्ष पुगेका बालिकालाई खोप दिने तयारी गरेको छ। यसैबीच बालस्वास्थ्य महाशाखाले मुलुकका ३१ जिल्लामा मात्र सञ्‍चालन गरिएको जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान यो वर्षदेखि सबै जिल्लामा पुर्‍याइने भएको छ। अन्नपूर्ण पोस्टबाट

No comments:

| Copyright © 2013 super khabar