छोरीले आफ्नै जिउँदी आमालाई मरेको प्रमाणित गरी जग्गा खाएपछि

तेज वन विश्वासी
सुनसरी,  वैवाहिक बन्धनमा बाँधिएकी छोरीले शरण मागेपछि आमाले शरण दिइन् । तर, शरण लिन पुगेकी छोरीले सम्पत्तिका लागि आफ्नै आमामाथि जे गरिन्, सुन्दै घृणा लाग्छ । यो दुःख झापा गौरीगन्ज–७ निवासी ७४ वर्षीया राजकुमारी श्रेष्ठको हो ।
छोरी सरस्वती श्रेष्ठले पहिले जिउँदी आमा राजकुमारीको मृत्युदर्ता गरिन् । मृत्युदर्ता पत्र बनाएपछि आमाको नामको जग्गा आफ्नो नाममा बनाइन् । यो कर्तूत बाहिरिने डरले पछि आमालाई घरबाटै निकाला गरिन् ।
राजकुमारीका पाँच बहिनी छोरीमध्येकी जेठी सरस्वतीले आफ्नै श्रीमानसँग मिलेर आमाको नाममा रहेको घर र एक बिघा पाँच कट्ठा जग्गा आफ्नो नाममा पास गरेकी हुन् ।
घरबाट निकालिएपछि राजकुमारी काठमाडौंमा रहेकी काइली छोरीको शरणमा पुगिन । पछि राजकुमारीले आफ्नो सम्पत्तिबारे सोधिखोजी गर्दा जेठी छोरीले आफ्नो नाममा पारिसकेको थाहा पाइन् ।
आफ्नो नामको सम्पत्ति जेठी छोरीले नक्कली कागजात बनाई हडपेको जानकारी पाएपछि राजकुमारीले बुधबार पत्रकार सम्मेलन गरिन् । पत्रकार सम्मेलनमार्फत उनले गौरीगन्ज गाविसका तत्कालीन सचिव टेकबहादुर कार्की र स्थानीय पञ्जिकाधिकारी अर्जुनप्रसाद दाहाललाई मोटो रकम खुवाएर छोरी सरस्वतीले आफ्नो नामको सम्पत्ति खाएको बताएकी छन् । ‘जिउँदै रहेकी मलाई मरेको प्रमाणित गरेर जग्गा खाएछन्,’ उनले भनिन्, ‘मैले न्याय पाउनुपर्यो ।’
राजकुमारीको श्रीमान भरतलाल श्रेष्ठको १५ कात्तिक ०४५ मा निधन भएको हो । त्यसको केही वर्षपछि एक मात्र छोरो युवराजको पनि मृत्यु भयो । श्रीमान र छोराको मृत्युपछि सम्पत्ति आफ्नो नाममा भएको र सो सम्पत्ति किर्ते कागजात बनाई ०६८ सालमा जेठी छोरीले हडपेको राजकुमारीले पत्रकार बताइन् ।
‘यो काममा ज्वाइँ (सरस्वतीका श्रीमान् तीर्थनारायण श्रेष्ठ) ले पनि साथ दिएका रहेछन् । तर, ज्वाइँको केही वर्ष अघि निधन भइसक्यो,’ राजकुमारीले भनिन् ।
जिउँदै रहेकी राजकुमारीको मृत्युदर्ताको प्रमाण पत्रमा गौरीगन्ज गाविसका पञ्जिकाधिकारी अर्जुनप्रसाद दाहालले हस्ताक्षर गरेका छन् । मृत्युदर्ताको प्रमाणपत्र २ कात्तिक ०६८ मा बनाइएको हो ।
राजकुमारीले मृत्युदर्ता प्रमाणपत्र बनाइदिने तत्कालीन गाविससचिव टेकबहादुर कार्की, पञ्जिकाधिकारी अर्जुनप्रसाद दाहाल, घर–जग्गासम्बन्धी नक्कली कागजात बनाइदिने सरकारी वकिल नारायण अधिकारी र सरस्वती श्रेष्ठविरुद्ध उजुरी हाल्ने बताएकी छिन् ।

No comments:

| Copyright © 2013 super khabar