काठमाडौं, आषाढ २६ । आइसीसी विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको छनोटमा नेपालले सुखद सुरुआत गरेको छ ।आयरल्याण्डको बेलफास्ट मैदानमा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हरायो । अमेरिकाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले अन्तिम २ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको हो ।नेपालको जितमा उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतकीय पारी खेले । नेपालले पहिलो विकेट भने सुरुआतमै गुमाएको थियो । ओपनर सागर पुन व्यक्तिगत ४ रनमा आउट हुँदा नेपालको स्कोर ६ रन थियो ।
तर, अनिल मन्डल र मल्लले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै नेपालको स्थिति मजबुत पारे । अनिल २९ रनमा पवेलिएन फर्किए । ज्ञानेन्द्रले ४३ बलमा ६ चौका र १ छक्काको मद्दतमा
५२ रन जोडे । कप्तान पारस खड्का २१ र शरद भेषवाकर २ रनमा अविजित रहे । विनोद भण्डारीले ७ रन बनाए यसअघि, पहिले ब्याटिङ गरेको अमेरिकाले पूरा २० ओभर खेल्दै सबै विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । अमेरिकाले ‘पावर प्ले’मा राम्रो रन जोडेको थियो ।
६ ओभरमा १ विकेट गुमाएर ४९ रन बनाएको अमेरिकाले ६८ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, अकिम डोट्सन र फहद बाबर बाहेक उसका अरु ब्याट्सम्यान क्रिजमा टिकेनन् ।
अमेरिकालाई सस्तैमा समेट्नेक्रममा शक्ति गौचन र बसन्त रेग्मीले समान ३–३ विकेट लिए भने सोमपाल कामीले २ तथा सागर पुनले एक विकेट झारे । शक्ति गौचन म्यान अफ द म्याच घोषित भए ।
आयरल्यान्ड र स्कटल्यान्डले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा १४ टोली सहभागी छन् । नेपाल रहेको समूह ‘ए’मा आयोजक आयरल्यान्ड, अमेरिका, पपुवा न्युगिनी, नामिबिया, हङकङ र जर्सी छन् ।
प्रतियोगिताको समूह ‘बी’मा अर्को आयोजक स्कटल्यान्ड, नेदरल्यान्ड्स, क्यानडा, अफगानिस्तान, युएई, केन्या र ओमान छन् ।प्रतियोगिताबाट ६ टोली आउँदो वर्ष भारतमा हुने विश्वकप टी–२० का लागि छानिने छन् । दुबै समूहका विजेता सोझै विश्वकपमा छानिने छन् भने दोस्रो, तेस्रो र चौथो हुने टोलीले ‘प्ले अफ’ खेल्ने अवसर पाउनेछन् ।
प्ले अफबाट विश्वकप टी–ट्वेन्टीका लागि छानिने चार टोलीको टुंगो लाग्ने छ ।
No comments: